मनकामना केवुलकार सेवाकाे २७ बर्षमा प्रबेश ।


मनकामना केवुलकार सेवाकाे २७ बर्षमा प्रबेश ।

मनकामना केबुलकारले सेवाकाे २७औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले यसका प्रणेता स्व लक्ष्मणबाबु श्रेष्ठलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनको योगदानलाई स्मरण गरेको छ। 

कम्पनीले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लट्ठा फेर्ने र डिजिटल डी-कनेक्ट प्रणालीमा स्तरोन्नति गरिसकेको छ। कम्पनीले ५० करोड रुपैयाँ लगानीमा दुई महिना लगाएर केबुलकारको स्तरोन्नति गरेको थियो। नेपालको पहिलो केबुलकार मनकामना केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यसवरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भएको छ।

मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार केबुलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ। रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा-सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ।

रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए। केबुलकार सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको श्रेष्ठको भनाइ छ। यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको पनि उनले बताए।

कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग जातिहरूलाई सहयोग गर्दै आएको जनाएको छ। टिकट आम्दानीको कुल २ प्रतिशत रकम सहिद लखन गाउँपालिका, गोरखा र इच्छाकामना गाउँपालिका, चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी बर्सेनि सहयोग गर्दै आएको छ।